थेवामानोगरी मनीवेलको बैंक खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भएको थियो । तर अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन् । अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ ।
साथै उक्त रकमको ब्याज र कानुनी कारबाहीका क्रममा लागेको खर्च पनि अर्को पक्षलाई तिर्न भनेको छ । सन् २०२१ मा क्रिप्टो डटकमले मनीवेलको खातामा अस्ट्रेलियाली डलरमा कारोबार गरेपछि यो विवाद सुरु भएको थियो । त्यसबेला दक्षिणपूर्वी अस्ट्रेलियाको मेलबर्न सहरमा बस्ने मनीवेलको खातामा जम्मा १०० डलर भुक्तानी हुनुपर्ने थियो।
तर उनको खातामा लगभग ७० लाख अमेरिकी डलर जम्मा भयो । अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार मानवीय गल्तीले त्यस्तो भएको थियो । पैसा पठाउँदा रकम राख्नुपर्ने ठाउँमा मनीवेलको खाता नम्बर राखिदिँदा उक्त समस्या उत्पन्न भएको विवरणमा जनाइएको छ । मनीवेल क्षणभरमै करोडपति बनिन्। र उनीसँग उक्त रकमलाई व्यवस्थापन गर्न समयको कुनै अभाव थिएन ।
त्यसपछिका केही महिना उनले आफ्नो खातामा आएको रकमको ठूलो हिस्सा आफ्ना साथीहरूको संयुक्त खातामा पठाइन् । ती साथीले करिब तीन लाख डलर आफ्नी छोरीको खातामा पठाइन् । उनले मेलबर्नको उत्तरमा एउटा घर समेत खरिद गरिन्। मलेशियामा रहेकी आफ्नी बहिनीको नाममा मनीवेलले घर किनेकी थिइन् ।
उनले साढे १३ लाख डलरमा घर किनेकी थिइन् । क्रिप्टोकरेन्सी कम्पनीलाई आफ्नो यो गल्ती थाहा पाउन कैयौँ महिना समय लाग्यो । अस्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित सर्वोच्च अदालतका न्यायाधीश जेम्स एलियटका अनुसार निवेदकलाई आफ्नो यत्रो ठूलो गल्ती थाहा पाउन नै सात महिना समय लाग्यो। र अदालतले निवेदकको पक्षमा फैसला सुनाउँदै पूरै रकम मात्र नभएर त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ ।
अदालतले मनिवेलको बहिनीको नाममा किनिएको घर बिक्री गर्नुपर्ने निर्णय सुनाउँदै गल्तीले आएको रकमबाट उक्त सम्पत्ति खरिद् गरिएको साबित भएको उल्लेख गरेको छ । क्रिप्टोकरेन्सी कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा कानुनी कारबाही सुरु गरेको थियो। त्यसक्रममा मनीवेलसँग जोडिएका खाता रोक्का गर्न उक्त कम्पनी सफल भएको थियो ।
तर ती खाता रोकिँदासम्म अधिकांश रकम अन्य खातामा ट्रान्सफर भइसकेका थिए । मनीवेलको सम्पत्ति फ्रिज भएको दुई हप्तापछि उनकी बहिनी नयाँ घरको मालिक बनेकी थिइन् । उक्त कम्पनीले उनको पनि खाता फ्रिज गर्न माग गरेको थियो। तर अहिले अदालतले उनको घर पनि बेच्न आदेश दिएको छ ।

प्रतिक्रिया