इराक भएको हिंसात्मक झडपमा १५ जनाको मृत्यु


इराकमा सिया समुदाय र सुरक्षाकर्मीबीच झडप हुँदा १५ जनाको मृत्यु भएको छ। राजधानी बगदादमा भएको हिंस्रक झडपका क्रममा ३५० जनाभन्दा धेरै घाइते भएका छन् ।

मुकतडाका समर्थक राष्ट्रपति निवास प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। मुकतडाले राजनीतिबाट संन्यास घोषणा गरेपछि उनका समर्थक सडकमा ओर्लिएका थिए । धेरैजसो झडप सरकारी कार्यालय र दूतावास रहेको सुरक्षित क्षेत्र मानिने ‘ग्रीन जोन’मा भएको छ।

प्रदर्शन बढ्दै गएपछि नेदरल्यान्ड्सको दूतावासका कर्मचारीहरु जर्मनीको दूतावासमा शरण लिन पुगेका छन् । परिस्थिति बिग्रन सक्ने भन्दै इराकभर कर्फ्यू लगाइएको छ। कार्यवाहक प्रधानमन्त्री मुसतफा अल खादीमीले शान्ति कायम राख्न सबैमा अपील गरेका छन्।

मुकतडाको नजिकका मानिने खादीमीले हिंसा रोक्न अपील गर्न उनीसँग आग्रह पनि गरेका छन्। मुकतडाले हिंसा र हतियारको प्रयोग नरोकेसम्म आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

बढ्दो राजनीतिक तनावलाई मध्यनजर गर्दै इरानले इराकसँगको सीमा सबै बन्द गरेको छ भने कुवेतले त्यहाँ रहेका सबै नागरिकलाई तत्काल फर्कन आग्रह गरेको छ।