विपन्न वर्गको हित संरक्षणमा श्रीलङ्काली प्रधानमन्त्रीको जोड


श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले मुलुकका विपन्न वर्गको हित संरक्षण अपरिहार्य भएको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पिटर ब्रुएर र मासाहिरो नोजाकी नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटवार्तामा उनले विपन्न वर्ग लक्ष्यित सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक भएको बताएका हुन् ।

उनले आइएमएफसँगको सम्झौतापछि देशको सामाजिक सुरक्षाको क्षेत्रलाई अझ सबल बनाउने आफ्नो सोच रहेको बताए । अकल्पनीय आर्थिक एवम् सामाजिक सङ्कट झेलिरहेको श्रीलङ्काका प्रधानमन्त्रीले आयात कटौती तथा निर्यात प्रवद्र्धन देशको अहिलेको पहिलो प्राथमिकता भएको जानकारी आइएमएफ प्रतिनिधिमण्डललाई दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

वर्तमान आर्थिक सङ्कटबाट सबैभन्दा बढी विपन्न वर्ग परेका र उनीहरूको संरक्षणका साथै उनीहरूलाई उचित सामाजिक सुरक्षा प्रदान गर्नु आफ्नो सरकारको दायित्व भएको बताउँदै प्रधानमन्त्री गुणवद्र्धनाले आर्थिक सुधारका कार्यक्रममा पनि कमजोर एवम् विपन्न वर्गको उत्थानलाई केन्द्रमा राखिएको जानकारी दिए ।