भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले शनिबार बिहान सपथ खाएका हुन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएकी थिइन् ।
उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन् । उनको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ । झण्डै तीन महिने कार्यकालमा उनले तीन कामलाई प्राथमिकता दिने बताएका छन् । अवकाश प्राप्त प्रधानन्यायाधीशलाई बिदाई गर्न आयोजित कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश ललितले मुद्दालाई सरलीकृत गर्ने, छिटो छिटो टुङ्ग्याउने र पारदर्शी बनाउने जानकारी दिएका थिए ।
उनी न्यायाधीश हुनु अघि भारतमा चर्चित अधिवक्ता थिए । अधिवक्ता मध्येबाट न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति हुन् । उनी सुरुमा पुनरावेदन अदालतमा न्यायाधीश भएका थिए । त्यसपछि सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । सन् १९५७ को नोभेम्बरमा महाराष्ट्रको सोलापुरमा जन्मिएका ललितका पिता पनि न्यायाधीश नै थिए ।

प्रतिक्रिया