सिङ्गापुरले समलिङ्गी यौनसम्बन्धलाई अवैध बनाएको उसको कानुन खारेज गरेको छ । जसले गर्दा अब त्यहाँ समलिङ्गी सम्बन्ध वैध हुनेछ । वर्षौँको चर्को बहसपश्चात् राष्ट्रिय टेलिभिजनमार्फत् प्रधानमन्त्री ली सिएन लुङ्ले उक्त घोषणा गरेका हुन् ।
सिङ्गापुरका एलजीबीटी अधिकारका अभियानकर्मीहरूले उक्त निर्णयलाई स्वागत गर्दै मानवताका निम्ति विजय भनेका छन्। सिङ्गापुरमा पुरातन मान्यताहरू विद्यमान रहेको मानिन्छ। तर पछिल्ला वर्षहरूमा बढ्दो सङ्ख्यामा मानिसहरूले ‘३७७क’ भनिने औपनिवेशकालीन कानुन खारेज गर्नुपर्ने आवाज उठाउँदै आएका थिए ।
एसियाली भूभागमा एलजीबीटी अधिकारको पक्षमा निर्णय लिनेमा भारत, ताइवान तथा थाइल्यान्डपछि सिङ्गापुर पछिल्लो बनेको छ । यसअघि त्यहाँको सरकारले समलिङ्गी पुरुषहरूबीच यौनसम्बन्ध प्रतिबन्धित गर्ने ‘३७७क’ कानुन कायम राख्ने धारणा राखेको थियो।
तर दुवै पक्षलाई नचिढ्याउने गरी उसले उक्त कानुनको कार्यान्वयन भने नगर्ने वाचा गरेको थियो । तर आइतबार राति लीले उक्त कानुन खारेज गर्ने बताए। यो सही कदम हुनेछ जसलाई सिङ्गापुरका अधिकांश जनताले स्वीकार्नेछन् भन्ने आफ्नो विश्वास रहेको उनले बताए ।
उनले अचेल समलिङ्गी मानिसहरू धेरै स्वीकार्य भएको भन्दै ३७७क खारेज गर्ने कामले देशको कानुनलाई वर्तमान सामाजिक मूल्यमान्यतासँग जोड्नेमा आफू आशावादी रहेको उनले बताए । यसले सिङ्गापुरका समलिङ्गी समुदायलाई केही राहत पुग्ने उनको भनाई थियो ।

प्रतिक्रिया