नासाले फेरि चन्द्रमामा मानव यान पठाउने


अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको ’प्याड ३९बी’मा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ । त्यो परीक्षण उडानमा चालकदलका कोही पनि सदस्य हुने छैनन्।

तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ ।

झन्डै १०० सय मिटर अग्लो एसएलसीलाई विशाल ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको थियो । जडान गरिएको भवनबाट एसएलसी रकेट स्थानीय समयानुसार मङ्गलवार राति झन्डै १० बजे हिँडेको थियो।

त्यहाँबाट ६.७ किलोमिटर पर रहेको प्रक्षेपणस्थलसम्म पुग्दा बुधबार सूर्योदय भइसकेको थियो। यो नासाका लागि एउटा महत्वपूर्ण क्षण हो ।

आगामी डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो १७ अभियानको ५० औँ वार्षिकोत्सव मनाउन लागेको छ ।

नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।