घरमा छापा मार्न जारी पुर्जी सार्वजनिक गरे ट्रम्पले प्रतिवाद नगर्ने


अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साताको सुरुमा एफबीआई अधिकारीहरूलाई आफ्नो निवास मार–ए–लागोमा छापा मार्न जारी गरिएको पुर्जी सार्वजनिक गरिनु पर्ने अमेरिकी सरकारको निर्णयको प्रतिवाद नगर्ने बताएका छन् ।

विज्ञप्तिमार्फत ट्रम्पले आफूले यस मामिला छिटो पार लगाउन चाहेको बताएका हुन् । यद्यपि, उनले आफ्नो घरमा खानतलासी गर्ने कार्य अनावश्यक र राजनीतिक स्वार्थले प्रेरित भएको बताएका छन् ।

अमेरिकी न्यायमन्त्रालयले फ्लोरिडास्थित एक अदालत समक्ष छापा मार्ने अनुमतिको लागि जारी गरिएको पुर्जी सार्वजनिक गर्ने दुर्लभ आग्रह गरेको छ । उक्त आग्रह स्वीकार भएको खण्डमा पुर्जी सम्बन्धी कागजपत्रहरू सार्वजनिक रूपमा उपलब्ध हुनेछन् ।

त्यसले सोमबार ट्रम्पको फ्लोरिडास्थित घरमा तलासी गर्नुको कारण प्रस्ट्याउने छ। के कारणले छापा मार्न खोजिएको हो भन्ने बारे हालसम्म रक्षा मन्त्रालयले केही पनि खुलाएको छैन । एफबीआईको छापा पूर्व अमेरिकी राष्ट्रपतिले अभिलेख गरिएका विवरण र गोप्य दस्ताबेजहरू ह्वाइटहाउसबाट अन्यत्र लगेकोबारे अनुसन्धानसँग जोडिएको ठानिएको छ।