अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ । चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ ।
ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै समायोजित गर्न सकिने ठान्दै आएको चीन उक्त टापुमा भएको पलोसीको छोटो भ्रमणले आक्रोशित भएको थियो । ताइवानले आक्रमणको पूर्वतयारी स्वरूप सैन्य अभ्यास गरेको आरोप चीनमाथि लगाएको छ ।
ताइवान सरकारले चिनियाँ सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र चिनियाँ मूल भूमिभन्दा फरक रहेको ठान्दै आएको छ। बेइजिङ भने यो टापुलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लाउन चाहन्छ ।
अमेरिकी सभामुख पलोसी सन् १९९० को दशक यता ताइवान भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन् । चीनको चेतावनी बेवास्ता गर्दै उनी गत साता ताइवान भ्रमणमा निस्किएपछि दुई देशबीच तनाव बढेको थियो ।
उग्र प्रतिक्रिया जनाएको चीनले चार दिनसम्म गोलाबारीको अभ्यास, पनडुब्बी प्रतिरोधी आक्रमण गर्नुका साथै समुद्री आक्रमणको अभ्यास गरेको थियो ।
चीनको पिपल्स लिबरेशन आर्मीले एक वक्तव्य जारी गर्दै चीन र ताइवानबीचको समुद्री क्षेत्रमा नियमित युद्ध तयारी गस्तीहरू गरिने जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले ३६ वटा चिनियाँ सैन्य विमान र १० वटा पानीजहाज चीन र ताइवानबीच रहेको साँघुरो सामुद्रिक मार्गमा अझै पनि परिचालित रहेको जनाएको छ।

प्रतिक्रिया