इजरायल र प्यालेस्टिनीबीच दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु


इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउँदा दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतले बताएको छ ।

यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । इजरायलले विस्फोटको जिम्मेवारी भने अस्वीकार गरेको छ ।