मध्यअफ्रिकी गणतन्त्रमा हतियारमाथिको प्रतिबन्ध खुकुलो


सुरक्षा परिषद्ले मध्य अफ्रिकी गणतन्त्रमा हतियारमाथि लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । हतियारमाथिको प्रतिबन्ध पूर्णरूपमा फुकुवा हुनुपर्नेमा जोड दिँदै आएको सरकारलाई यसले केही राहत दिएको छ ।

हतियारमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउने पक्षमा शुक्रबार भएको मतदानमा रुस, चीन र परिषद्का तीन अफ्रिकी सदस्यले भाग लिएका थिए । मतपरिणामअनुसार प्रस्तावको पक्षमा १० मत खसेको थियो भने विपक्षमा एक मत पनि परेन ।

मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्वी बाइपो–टेमोनले परिषद्को कदमको आफ्नो देशले स्वागत गरेको भन्दै सरकारी सेनाका लागि हतियारका केही वर्गमा गरिएको सीमितताको अब औचित्य नरहेको परिषद्लाई बताइन् ।

सन् २०१३ देखि लादिएको प्रतिबन्ध प्रभावकारी नरहेको तथा त्यसले अत्याधुनिक हतियार भएका चरमपन्थी र विद्रोहीका गतिविधि र तिनबाट भएका हतियारको प्रसारले उत्पन्न गम्भीर समस्या समाधानलाई सम्बोधन नगर्ने टिप्पणी उनले गरिन् ।

खनिज पदार्थको अथाह भण्डार रहेको गरिब राष्ट्र मध्यअफ्रिकी गणतन्त्र सन् २०१३ देखि घातक अन्तरसाम्प्रदायिक सङ्घर्षको सामना गरिरहेको छ ।

मुख्यतया मुस्लिम सेलेका विद्रोहीले सत्ता कब्जा गरेर राष्ट्रपति फ्रान्कोइस बोजिजलाई पदबाट हट्न बाध्य पारेपछि द्वन्द्व बढिरहेको छ ।

सन् २०१९ को फेब्रुअरीमा सरकार र १४ विद्रोही समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको भए पनि सन् २०२० को डिसेम्बरमा राष्ट्रपतिका लागि बोजिजको उम्मेदवारीलाई संवैधानिक अदालतले अस्वीकार गरेपछि हिंसा पुनः भड्कियो ।

राष्ट्रपति फस्टिन अर्चेन्ज टौडेराले ५३% मतका साथ दोस्रो कार्यकाल जितेका थिए तर उनले बोजिजसँग सम्बन्ध भएको विद्रोही गठबन्धनको विरोधको सामना गर्नुपरेको छ । सरकारले राजधानीलाई आफ्नो नियन्त्रणमा राखे पनि देशको धेरै भाग सशस्त्र समूहहरूको नियन्त्रणमा छ ।