युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण भएपछि रुसमाथि बर्बरता गरेको आरोप लगाएका छन् । युक्रेनको अन्न निर्यात सम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको केही घण्टामै क्षेप्यास्त्र आक्रमण भएपछि उक्त सम्झौता अलपत्र परेको छ ।
मस्कोले उक्त आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। किएभले सम्झौता उल्लङ्घन गरिएको भए पनि अन्न निर्यात जारी राख्ने तयारी गरेको जनाएको छ । शनिबार राष्ट्रपति जेलेन्स्कीले उक्त घटनाले सम्झौता परिपालन नगर्ने चित्रण गरेको भन्दै मस्कोमाथि विश्वास गर्न नसकिने बताएका थिए ।
उनले भविष्यमा हुने यस्ता क्षेप्यास्त्र आक्रमणलाई जसरी भए पनि निष्फल बनाउन हवाई प्रतिरक्षा प्रणाली विकास गर्न हर सम्भव प्रयास गर्ने जनाए । युक्रेन प्रमुख अन्न निर्यातकर्ता हो तर युद्धका कारण २ करोड टन अन्न उसका बन्दरगाहहरूमा फसिरहेको छ र रुसी फौजका कारण निर्यात हुन सकिरहेको छैन ।
त्यसले गर्दा खासगरी युक्रेन र रुसमाथि गहुँका लागि निर्भर अफ्रिकामा उच्च मूल्यवृद्धि भएको छ । शुक्रबार भएको सम्झौता अनुसार अन्न निर्यात गर्ने बेलामा रुसले बन्दरगाहहरूलाई निशाना नबनाउने सहमति भएको थियो ।
तर सम्झौतामा हस्ताक्षर भएको केही घण्टामै दुई वटा कालिबर क्षेप्यास्त्र ओडेसा बन्दरगाहमा खसेको युक्रेनी सेनाको दक्षिणी कमान्ड केन्द्रले जनाएको छ। सेनाले थप दुई वटा क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीले खसालेर निष्फल तुल्याइदिएको बताएको छ।

प्रतिक्रिया