क्यालिफोर्नियामा आपतकाल घोषणा


संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ । ओक फायर नाम दिइएको डढेलो शुक्रवारबाट विस्फोटक शैलीमा फैलिन सुरु भएको थियो । तर अग्नि नियन्त्रकहरूले २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा लिन सकेका छैनन् ।

डढेलोपछि तीनहजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने १० बढी घरहरू नष्ट भइसकेका छन् । आगो ११ हजार ९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ ।

क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर गभिन न्यूसोमले वक्तव्य जारी गर्दै सुक्खासँगै गर्मी मौसमका कारण आगो फैलिएको बताएका छन् ।

अमेरिकाको अधिकांश ठाउँहरूमा यो सप्ताहान्तमा उष्णलहर चलिरहेको छ। मारिपोसा काउन्टीमा शनिवारको तापक्रम ३५.५ डिग्री सेल्सियस थियो र यही तापक्रम अझै केही दिन रहने प्रक्षेपण गरिएको छ ।

औद्योगिक युग सुरु भएसँगै विश्वको तापमान १.१ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ। उत्सर्जन रोक्न विश्वका सरकारहरूले ठोस कदम नचालेको अवस्थामा तापमान वृद्धि जारी रहने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।