अमेरिकी न्याय मन्त्रालयले झन्डै पाँच लाख डलर बराबरको बिटकोइन सन्दिग्ध उत्तर कोरियाली ह्याकरहरूबाट जफत गरेको छ । ह्याकरहरूले नयाँ प्रकारका र्यान्समवेअरको प्रयोग गरी कैयौँ संस्थाहरूबाट रकम असुलेका थिए ।
अमेरिकी निकायहरूले उनीहरूले दुईवटा अस्पताललाई तिनले तिरेका फिरौती बापतको रकम फिर्ता गरिदिएको जनाएका छन् । अमेरिकी निकायहरूले उत्तर कोरिया साइबर फिरौती सङ्कलनमा प्रमुख चुनौती बनेको चेतावनी दिइरहेका बेला उक्त दुर्लभ घटना भएको हो ।
मङ्गलबार आयोजित एउटा सम्मेलनमा सहमहान्यायाधिवक्ता लिजा ओ मनोकोले उक्त साइबर आक्रमणबारे सुरुमै अमेरिकी सङ्घीय जाँच निकायलाई खबर गरेकोमा केन्ससको एउटा अस्पताललाई धन्यवाद दिइन् ।
अदालतमा प्रस्तुत गरिएका दस्तावेजमा ह्याकरहरूले मावी नामक र्यान्समवेअरको प्रयोग गरेर केन्ससको एउटा अस्पतालका फाइलहरू र सर्भरहरू इन्क्रिप्ट गरेको जनाइएको छ । साधरणतया र्यान्समवेअर ह्याकरहरूले खतरनाक सफ्टवेअरहरूको प्रयोग गरी तुरुन्तै तथ्याङ्कहरूमा पहुँच कायम गर्छन् वा फिरौती नतिरेसम्म प्रयोगकर्ताहरूलाई प्रणालीबाट नै अलग गरिदिन्छन् ।
केन्ससको अस्पतालले एक सातासम्म आफ्नो आईटी प्रणालीमा पहुँच कायम गर्न नसकेपछि आफ्नो कम्प्युटर र अन्य उपकरणसम्म पहुँच प्राप्त गर्न एक लाख डलर बराबर बिटकोइनमा तिरेको थियो।

प्रतिक्रिया