अफ्रिकी मुलुक घानामा पहिलो पटक मार्बर्ग भाइरस देखापरेको पुष्टि भएको छ । त्यहाँ दुई जनामा उक्त भाइरस देखापरेको हो । मार्बर्ग इबोला परिवार समूहको उच्च सङ्क्रामक भाइरस हो । दुवै सङ्क्रमितको हालै दक्षिणी अशान्ट क्षेत्रस्थित एउटा अस्पतालमा मृत्यु भएको बताइएको छ ।
यसै महिनाको सुरुमा दुवै जनाबाट सङ्कलित नमुनामा सङ्क्रमण देखिएको थियो । अहिले सेनेगलस्थित प्रयोगशालाले पनि त्यसलाई पुष्टि गरेको हो । पश्चिम अफ्रिकी देशका स्वास्थ्य अधिकारीहरूले ती दुई जनासँग सम्पर्कमा रहेको ठानिएका ९८ जना अहिले क्वारन्टीनमा रहेको बताएका छन् ।
मार्बर्ग भाइरसका लागि हालसम्म कुनै पनि उपचार उपलब्ध छैन । तर चिकित्सकहरू प्रशस्त पानी पिउने र उक्त सङ्क्रमणबाट देखिएका लक्षणहरूको उपचार गर्दा बिरामीहरू बाँच्ने सम्भावना बढ्ने बताउँछन् । उक्त भाइरस एक खाले चमेरोबाट मानिसमा र मानिसहरूबीच शरीरबाट उत्पन्न हुने विभिन्नखाले तरल पदार्थको माध्यमबाट सर्ने गर्छ । यो गम्भीर र घातक खालको रोग हो।
यस्तो सङ्क्रमण भएपछि बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, मांशपेसी दुख्ने, रगत मिसिएको बान्ता हुने र रक्तश्राव हुनेजस्ता लक्षण देखिन्छन् । अधिकारीहरूले गुफाहरूबाट टाढा बस्न र मासुजन्य खानेकुराहरू उपभोग गर्नुअघि राम्ररी पकाएर मात्र खान भनेका छन् ।
अफ्रिकामा यसअघि उक्त भाइरसको सङ्क्रमण अङ्गोला, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो, केन्या, दक्षिण अफ्रिका र युगान्डामा कतै प्रकोपका रूपमा र कतै छिटपुट रूपमा देखापरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मार्बर्ग भाइरसको प्रकोप सन् १९६७ मा पहिलो पटक देखापरेको थियो।
त्यसबेला त्यहाँ सात जनाको मृत्यु भएको थियो । सन् २००५ मा अङ्गोलामा उक्त भाइरस सङ्क्रमणका कारण २०० भन्दा बढीको ज्यान गएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यो हालसम्मकै सबैभन्दा धेरै जनाको ज्यान गएको घटना थियो।

प्रतिक्रिया