उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त कार्गो विमानले बाङ्ग्लादेशका लागि विस्फोटक पदार्थसहित ११ टन हतियार बोकेको अधिकारीहरूले बताएका छन् । एन्टोनोभ–१२ खस्न पुगेको क्षेत्रका दुई किलोमिटर वरपरका मानिसहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ ।
उक्त विमान सर्बियादेखि जोर्डन गइरहँदा कवाला सहर नजिकै दुर्घटनाग्रस्त भएपछि विमानमा सवार आठै जनाको ज्यान गएको थियो । प्रत्यक्षदर्शीहरूले खिचेको भिडियोमा विमानमा आगो लागेको देखिन्छ । आइतबार बिहान दुर्घटना स्थलको सर्वेक्षण गर्न ड्रोनहरू प्रयोग गरिएको छ ।
राज्य सञ्चालित टेलिभिजनले उक्त स्थान सुरक्षित रहेको निश्चित नभएसम्म सेना, विस्फोटक पदार्थ विज्ञ र ग्रीक एटोमिक इनर्जी कमिशन कर्मचारीहरू दुर्घटना स्थलसम्म नजाने जनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार जमिनमा ठोक्किनु अघि नै विमानमा आगो लागिसकेको थियो ।
विमान चालकले विमान उडेको केहीबेरमै इन्जिनमा समस्या आएका कारण कवाला विमानस्थलमा आपत्कालीन अवतरण गर्नका लागि अनुमति मागेका थिए तर विमान रनवेमा पुग्नै नपाएको जनाइएको छ ।

प्रतिक्रिया