रुसी क्षेप्यास्त्र प्रहार खुलमखुला गरिएको आतङ्कवादी कार्यः जेलेन्स्की


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध भइरहेको पूर्वी युक्रेन स्थानबाट निकै टाढा रहेको एउटा युक्रेनी सहरमा घातक आक्रमण भएपछि त्यसलाई खुलमखुला गरिएको आतङ्कवादी कार्यको सङ्ज्ञा दिएका छन् ।

भिनित्सिया सहरको एउटा आवासीय क्षेत्रमा रुसी क्षेप्यास्त्रहरू प्रहार भएपछि तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

घटनामा एकसय जनाभन्दा बढी घाइते भएको बताइएको छ । अहिले किएभको दक्षिणपश्चिम र डोन्बासमा लडाइँ भइरहेको छ। तर भिनित्सिया ती स्थानबाट निकै पर छ ।

झन्डै तीन लाख ७० हजार मानिस बसोबास गर्ने सहरमा एउटा ९ तले भवनको कार पार्किङस्थलमा क्षेप्यास्त्र प्रहार भएपछि युक्रेनी राष्ट्रपतिले रुसको आलोचना गर्दै त्यस्तो टिप्पणी गरेका बीबीसीले उल्लेख गरेको छ ।

उक्त आक्रमणका कारण सहरको मध्य भागमा अवस्थित अरू आवासीय भवनहरू पनि प्रभावित भएका थिए । युक्रेनी आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू जीवित भेटिने सम्भावना कम रहेको बताएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार ज्यान गुमाउने बालबालिकामध्ये लिजा नाम गरेकी एक बालिका आफ्नो स्पीच थेरपी सत्र सकेर घर फर्किरहेकी थिइन्। आक्रमणमा पर्दा उनकी आमा सँगै थिइन् ।