श्रीलङ्कामा इन्धन भण्डारण खाली


श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहिन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ ।

मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डार करिब चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताए । विजेसेकेराले पेट्रोल तथा डिजेल जुलाई २२ र २३ सम्ममात्र आइपुग्ने अनुमान गरिएको जानकारी दिए ।

उनले भने, “हामीले नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेका छौं, तर जुलाई २२ अघि हामी कुनै पनि नयाँ आपूर्तिको लागि आश्वासन पाउन सकेका छैनौँ ।”

गत हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन् ।