चालकलाई लरीको एसीले काम नगरेको थाहा नहुँदा ५३ आप्रवासीको मृत्यु


हालै अमेरिकाको टेक्ससमा ज्यान गुमाएका ५३ जना आप्रवासी बोकेको लरीका चालकलाई सवारी साधनभित्र वातानुकूलित प्रणालीले काम नगरिरहेको भन्ने थाहा नभएको एक जना सुराकीले बत बताएका छन् । सङ्घीय अदालतमा प्रस्तुत गरिएका कागजपत्रमा होमेरो सामोरानोलाई त्यसबारे थाहा नभएको उल्लेख गरिएको छ।

अधिकारीहरूले उनी ट्रक नजिकै लुकेको अवस्थामा फेला परेको जनाएका छन् । टेक्ससका यी व्यक्ति अमेरिकी इतिहासकै सबैभन्दा खराब मानव तस्करीसँग सम्बन्धित घटनामा आरोपित गरिएका चार जनामध्ये एक हुन् ।

उक्त सवारी साधनमा फेला परेकामध्ये कैयौँ बालबालिकाको अझै उपचार भइरहेको छ । यसैबीच अर्को घटनामा आप्रवासीहरू बोकिरहेको अर्को ट्रक टेक्ससको सोही क्षेत्रमा फेला परेको छ ।

४५ वर्षका सामोरानो र अर्का आरोपित षडयन्त्रकारी क्रिस्टिअन मार्टिनेज, २८ लाई एकदमै उच्च तापक्रममा ट्रक फेला पर्नुअघि र पछि उक्त तस्करी अभियानसँग सम्बन्धित सन्देशहरू एक अर्कालाई आदानप्रदान गरेको आरोप लगाइएको छ ।

आप्रवासन र भन्सार कार्यान्वयन तथा टेक्सस प्रहरीलाई जानकारी दिने गोप्य सरकारी सुराकीले मृत्यु भएका विवरण आएपछि पनि ती दुईबीच कुराकानी भएको ती सुराकीले अधिकारीहरूलाई बताएका थिए ।

अदालतको दस्तावेजमा चालकलाई वातानुकूलित प्रणालीले काम गर्न बन्द गरेको र त्यसै कारण ती व्यक्तिहरूले ज्यान गुमाएको थाहा थिएन भनेको जनाइएको छ।