इरानमा मृत्युदण्डको सङ्ख्या अघिल्लो बर्षको तुलनामा दोब्बर


इरानमा सन् २०२२ को पहिलो ६ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले जानकारी गराएको छ । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त संस्थाले दावी गरेको छ ।

गत वर्षको पहिलो छ महिनामा ११७ जनालाई मृत्युदण्ड दिइएकोमा यो बर्षको जनवरी १ देखि जुन ३० सम्म ईरानमा २५१ जनालाई फाँसी दिइएको नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) को एक रिपोर्टमा बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत महिना मृत्युदण्डको वृद्धिप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । ईरानले उच्च सङ्ख्यामा लागुऔषध अपराधी र अल्पसंख्यक जातीय दलका धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको थियो ।

ईरानमा गत महिनाहरूमा खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्रीमा मूल्य वृद्धि भएको भन्नेजस्ता आर्थिक गुनासोसँगै राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गरेको थियोे ।

आईएचआर संस्थापक महमूद अमिरी–मोघड्डमले भने, “बढ्दो लोकप्रिय शासन विरोधी प्रदर्शनको प्रतिरोध गर्न डर फैलाउनु यी मृत्युदण्डको मुख्य लक्ष्य हो भन्नेमा कुनै शंका छैन ।”

मे ७ मा विरोध प्रदर्शनको नयाँ लहर सुरु भएदेखि नै १३७ जनालाई मृत्युदण्ड दिइएको उनले बताए । मृत्युदण्ड पाएकाहरूमध्ये छ महिलासमेत रहेको आईएचआरले बताएको छ ।

आईएचआरका अनुसार बुधबार मात्रै तेहरानबाहिर रहेको राजै शाहर जेलमा बलात्कार र हत्या अभियोगमा आठ जना कैदीलाई मृत्युदण्ड दिइएको थियो ।