इजरायलमा लापिद नयाँ प्रधानमन्त्री बन्ने


इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । बहुमत सांसदहरू प्रधानमन्त्रीको विपक्षमा उभिएपछि उनीहरूले संसद् विघटन गर्ने प्रस्ताव पारित भएको हो । यससँगै संसद् पनि विघटन भएको छ । संसद विघटन भएसँगै इजरायलमा फेरि निर्वाचन गर्नुपर्ने भएको छ ।

पछिल्लो चार बर्षमा इजरालयमा पाँच पटक निर्वाचन हुन लागेको हो । निर्वाचन आगामी नोभेम्बर १ मा गर्ने पनि तय भएको छ । तर निर्वाचन हुनुअघि चुनावी सरकारको नेतृत्व भने वर्तमान विदेश मन्त्री येर लापिदले गर्ने अपेक्षा गरिएको छ । येश अतिद पार्टीका नेता लापिदलाई शक्ति बाँडफाँडको सहमति अनुसार बेनेटले नै जिम्मेवारी हस्तान्तरण गर्ने भएका हुन् ।

बेनेटले लापिदलाई प्रधानमन्त्री बनाउने भएपनि आगामी निर्वाचनमा भने सहभागिता नजनाउने बताएका छन् । उनले आफ्नो पार्टीका कुनै पनि सदस्यले आगामी संसदीय निर्वाचनमा भाग नलिने स्पष्ट पारेका छन् । संसदले उनको अपेक्षा विपरित अग्रीम निर्वाचनको घोषणा गरेकाले अग्रीम निर्वाचनमा सहभागी हुन उपयुक्त नहुने निष्कर्ष निकालेका हुन् ।