अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन् ।
‘रो भर्सस वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ ।
तीमध्येका १३ राज्यले ’ट्रिगर ल’ भनिने कानुन बनाएर गर्भपतनलाई प्रतिबन्धित गर्ने व्यवस्था मिलाइसकेका छन् । शुक्रवारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ । राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गरेका छन् ।
अमेरिकाका विभिन्न सहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन् । गर्भपतनमा तत्काल प्रतिबन्ध लगाउने कानुन बनाइसकेको आर्कन्सा राज्यको लिटल रकस्थित एउटा गर्भपतन क्लिनिकले अदालतको आदेश अनलाइनमा प्रकाशित भएलगत्तै गर्भपतन सेवा बन्द गरेको छ ।
त्यहाँ बाहिरैबाट मानिसहरू सुँक्कसुँक्क गरेको सुन्न सकिन्थ्यो । कर्मचारीहरूले डाक्टरसँग भेट्ने समय लिइसकेका महिलालाई टेलिफोन गरेर उनीहरूको भेट रद्द गरिएको जानकारी दिइरहेका थिए । प्रदर्शनकारीहरूको माझबाट क्लिनिकमा आउने बिरामीहरूलाई सुरक्षा प्रदान गर्न आर्कन्साको गर्मीमा दिनभरि खटिएका सुरक्षाकर्मीहरूले सामूहिक अङ्कमाल गरेका छन् ।
अदालतको आदेश तत्काल कार्यान्वयन हुने लुईजियाना राज्यस्थित तीनवटा गर्भपतन केन्द्रमध्येको एक न्यू ओर्लन्सस्थित विमिन्स हेल्थ केअर सेन्टरका कर्मचारीहरू फैसलालगत्तै घर फर्किन थालेका थिए । क्लिनिकको बाहिर स्वयंसेवी सुरक्षाकर्मीको काम गरिरहेकी लिन्डा कोचरले बीबीसीसँग धनी महिलाहरूले अन्य राज्यमा गएर अझै पनि गर्भपतनको सेवा लिन पाउने भए पनि गरिबहरू मर्कामा पर्ने बताइन् ।
गर्भपतनविरोधी अभियानकर्मी पादरी बिल साङ्क्सले फैसलापछि यो उत्सवको दिन भएको बताए । सर्वोच्च अदालतको फैसलाले अमेरिकामा प्रजनन गर्न सक्ने उमेरका तीन करोड ६० लाख महिलाई आफ्नो राज्यमा गर्भपतनको पहुँचबाट रोक्ने एक अध्ययनले देखाएको छ । गर्भपतन अधिकारका पक्षधरहरूले पनि ५० वटै राज्यमा प्रदर्शनको तयारी गरिरहेका छन्।

प्रतिक्रिया