माक्रोँले संसदमा बहुमत गुमाउने निश्चित


राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयमै प्रतिस्पर्धी दलहरूले बलियो प्रदर्शन गरेपछि फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ त्यहाँको संसद्को तल्लो सदनमा नियन्त्रण गुमाउने अवस्थामा पुगेका छन् ।

उनले बलियो बहुमतका लागि मतदातालाई आह्वान गरेका थिए । तर माक्रोँको मध्यमार्गी गठबन्धनले चुनावमा दर्जनौँ सिट गुमाएको छ । त्यसले गर्दा फ्रान्सेली राजनीति ध्रुवीकृत हुन पुगेको छ। अब उनले सुधारका कुराहरू पारित गर्न सङ्घर्ष गर्नुपर्नेछ ।

वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । राष्ट्रपति माक्रोँले अब आफ्नो मन्त्रिपरिषद्का केही सदस्यलाई गुमाउने र विभाजित संसद्सँग काम गर्नुपर्ने छ र त्यो निकै असहज हुनेछ ।

राष्ट्रपतिले हालै एलिजाबेट बोर्नलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उक्त चुनावी नतिजा आएको हो । प्रधानमन्त्री बोर्नले फ्रान्सेली टीभीमा बोल्दै अवस्था अभूतपूर्व भएको र आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताइन्।