लडाइँ भइरहेको युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त भएका छन् । गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताएका छन् ।
उक्त पूर्वी युक्रेनी सहरमा भीषण लडाइँ भइरहेको छ । त्यहाँ रुसले आफ्ना सेनालाई सैन्य केन्द्रहरूबाट बाहिर निकालेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
हप्तौँदेखि सेभेरोडोनेट्स्कमा कब्जा गर्नु रुसका लागि उच्च सैन्य लक्ष्य बनेको छ । सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुनेछ ।
उक्त क्षेत्रका धेरैजसो भू–भागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन् । सेभेरोडोनेट्स्कका सबै तीनवटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन् । सहरमा रहेका बासिन्दाहरूलाई अत्यन्तै कठिन परिस्थितिमा बाँच्न बाध्य पारिएको उनले लेखेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त सहरमा युद्धको मानवीय मूल्य डरलाग्दो भएको बताएका छन् । उक्त सहरको लगभग ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ ।

प्रतिक्रिया