युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बीबीसीलाई बताएका छन् ।
पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताए । मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको पनि उनले उल्लेख गरे ।
सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको छ । रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए ।
युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग उनले दोहोर्याए। रुसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनले बताए। यो सङ्ख्या भनेको अहिलेसम्म युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी हो ।
युद्धको अग्रपङ्क्तिमा दैनिक १०० देखि २०० को बीचमा युक्रेनी सैनिकले ज्यान गुमाइरहेको भन्नु भनेको पहिला अनुमान गरिएको सङ्ख्याभन्दा उच्च हो । बिहीबार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका थिए।

प्रतिक्रिया