युक्रेनको सरकारी पारमाणविक कम्पनीले संयुक्त राष्ट्रसङ्घको पारमाणविक निगरानी निकायका प्रमुखले रुस नियन्त्रित ऊर्जा केन्द्रको योजनाबद्ध भ्रमणबारे झूटो बोलेको आरोप लगाएको छ ।
उक्त निकायका प्रमुख राफाएल ग्रोसीले सोमबार युक्रेनले अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी (आईएईए) लाई जापोरिज्या आणविक केन्द्रको भ्रमण गर्न निम्ता दिएको बताएका थिए । तर युक्रेनी सरकारी पारमाणविक कम्पनी इनर्गोएटमले त्यस्तो कुनै निम्ता नदिइएको र उक्त केन्द्रमा हुने त्यस्तो भ्रमणले त्यहाँ रुसी उपस्थितिलाई वैधानिकता दिने बताएको छ । यद्यपि ग्रोसीले आफूहरूमाथि झूटो बोलेको भनी लागेको आरोपलाई बेतुकको कुरा भनेका छन् ।
बीबीसीसँगको अन्तर्वार्तामा उनले यो युद्ध भएको बताए । तर उनले आफ्नो सङ्गठनले सुरक्षाको निरीक्षण गर्नु एउटा बाध्यात्मक अनुबन्धद्वारा निर्देशित दायित्व भएको दाबी गरे ।
रुसी सञ्चारमाध्यमका अनुसार उक्त स्थानमा हुने सम्भावित भ्रमणका लागि आईएईए रुसी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि मार्चको सुरुमा युरोपकै सबैभन्दा ठूलो जापोरिज्या पारमाणविक ऊर्जा केन्द्र कब्जा गरेको थियो।

प्रतिक्रिया