रुस राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट निलम्बित


संयुक्त राष्ट्र संघको महासभाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्(ओएचसीआर) को सदस्यबाट निलम्बन गरेको छ ।

बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रूसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेपछि रूस निलम्बनमा परेको हो ।

रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए। ५८ मुलुक तटस्थ बसेका थिए । मतदानमा नेपाल पनि तटस्थ बसेको थियो। गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै आएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई बिरलै निलम्बन गरिन्छ। यसअघि सन् २०११ मा सरकारविरोधी प्रदर्शनकारीमाथि चरम दमन गरेको भन्दै लिवियालाई निलम्बन गरिएको थियो।