बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउने भएका छन् । तीन देशले गतवर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो ।
चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा जुटेको हो । रुसले गत महिना युक्रेन आक्रमणमा यस्तो अस्त्रको प्रयोग समेत गरेको थियो ।
हाइपरसोनिक अस्त्रको गति आवाजको वेग भन्दा पाँच गुणा तीव्र हुन्छ । तीव्र गति र कम उचाइबाट उड्ने भएकाले जमिनका राडारबाट यस्ता हाइपरसोनिक क्षेप्यास्त्र पहिचान गर्न, रोक्न वा बीच उडानमै नष्ट गर्न समेत कठिन हुन्छ । बेलायतसँग हालसम्म हाइपरसोनिक क्षेप्यास्त्र छैन । अमेरिका र अस्ट्रेलियाले भने यस्तो हतियार निर्माणका लागि संयुक्त परियोजना सञ्चालन गरिरहेका छन्।
बेलायतले नयाँ सहकार्य रक्षा क्षेत्रमा केन्द्रित हुने जनाएको छ । बेलायतले आफ्नै हाइपरसोनिक हतियार बनाउने योजना नरहे पनि नयाँ कार्यक्रमले आफूलाई यस्तो हतियार बनाउन आवश्यक परेको अवस्थामा पहुँच स्थापित गर्न सहयोग पुग्ने जनाएको छ ।
युक्रेनमा यस्तो अस्त्र प्रयोग गर्ने रुसको कदमबाट पछिल्लो घोषणा नजोडिएको प्रस्ट्याउँदै बेलायतले अरू देशहरूले यस्तो हतियारमा लगानी गरिरहेका कारण त्यसको प्रतिरक्षाका लागि आफ्नो देशले पनि सोच्ने समय आएको बताएको छ ।
रुसले मार्च १९ मा युक्रेनको एउटा हतियार भण्डार नष्ट गर्न हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग गरेको दाबी गरिएको थियो । अमेरिकी सैन्य गुप्तचर निकायले रुसी फौजहरूले त्यसयता निरन्तर यस्तो हतियार प्रयोग गरेको दाबी गरेको छ । यो आक्रमणलाई सैन्य कारबाहीमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको घटनाको रूपमा हेरिएको छ।

प्रतिक्रिया