चिनियाँ अधिकारीहरूले साङ्घाईमा जारी निषेधाज्ञा पूरै दुई करोड पचास लाख जनसङ्ख्यामा लागु हुने गरी बिस्तार गरेका छन् । यो निर्णय त्यहाँ कोभिड सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि लिइएको हो ।
सुरुवातमा पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो । महत्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ ।
अधिकारीहरूले कोरोनाभाइरसको सङ्क्रमण दर प्रतिदिन १३ हजार भन्दा माथि पुगेपछि नयाँ नियम लगाएका हुन् । सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधान अन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् ।
उनीहरूलाई अत्यावश्यक सामग्री जोहो गर्न समेत बन्देज लगाइएको छ । स्थानीय बासिन्दाहरूले अनलाइनमार्फत खाद्यान्न र पानी मगाउन समेत कठिनाइ भएको बताएका छन् । निषेधाज्ञामा उनीहरूले आफ्नो आवश्यकता अनुरूप सामान कहिले माग गर्ने भन्नेमा पनि कडाइ गरिएको छ।

प्रतिक्रिया