बेलायती रक्षामन्त्री भन्छन्, -पुटिन आफैले बनाएको पिँजडामा थुनिए


युक्रेनमाथि आक्रमणपछि रुस कमजोर देश बनेको बेलायतका रक्षामन्त्री बेन वालेसले बताएका छन् । रुसी सेना थाकेको र उनीहरूको देशले ठूलो नोक्सान बेहोरेको उनको भनाइ छ । उनले राष्ट्रपति पुटिन पहिले जस्तो शक्तिशाली नरहेका र उनी अब आफैले बनाएको पिँजडामा थुनिएका मानिस भएका बताएका छन् ।

उनले रुसी सेनाको भव्य प्रतिष्ठा खेर गएको बताए । युक्रेनमाथि आक्रमणको नतिजा मात्र नभई आफ्नै सेनालाई गरेको व्यवहारको नतिजा समेत भोग्न पुटिन बाध्य भएको वालेसले बताए । उनका अनुसार रुसी सेनाहरू पुनः सङ्गठित हुँदै युक्रेनको दक्षिण र पूर्वतिर आफ्नो ध्यान केन्द्रित गरिरहेको देखिन्छ ।

बेलायतले रुसले जर्जियाबाट १२ सयदेखि दुई हजार सेनालाई सुदृढीकरणका लागि ल्याउन लागेको बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि युक्रेनमा रहेका रुसी सेनाले देशको पूर्वी क्षेत्रमा आफ्नो आक्रमणलाई दोब्बर बनाउन पुनः सङ्गठित भइरहेको बताए । वालेसले अन्तर्राष्ट्रिय दाताहरू युक्रेनलाई थप सैन्य उपकरण र घातक सहायता प्रदान गर्न सहमत भएको जानकारी दिए, जसमा सशस्त्र सवारीसाधन र लामो दूरीको तोप र गोली समावेश छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई केही सैन्य सवारीसाधन उपलब्ध गराउने घोषणा गरेका छन् । युक्रेनलाई सहयोग गर्ने र युद्धविरुद्ध प्रतिबन्ध लगाउने राष्ट्रहरूलाई रुसले विरोधी देशहरूको संज्ञा दिएको छ ।