चीनका एक अर्ब २४ करोडलाई कोभिडविरुद्धको पूर्ण खोप


चीनमा एक अर्ब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो । चीनमा सन् २०२१ को अन्त्य सम्ममा एक अर्ब ४१ करोड जनसङ्ख्या रहेको देखाइएको थियो । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिए ।

उनका अनुसार ६० बर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् । त्यसैगरी सङ्क्रमणबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको उनको भनाइ छ । पूर्ण खोप लगाउने र अतिरिक्त खोप लगाउने अभियान अहिले पनि चलिरहेको र कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरू पनि अपनाउन लगाइएको अधिकारीहरूले जनाएका छन् ।