उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण प्रहार असफल भएको दक्षिण कोरियाली सेनाले जनाएको छ । राजधानी प्योङ्याङको बाहिर रहेको क्षेत्रबाट सो क्षेप्यास्त्र प्रहार गरिएको थियो । सो स्थानबाट यसअघि पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो जसमध्ये अन्तरमहादेशीय क्षेप्यास्त्र भएको अमेरिकाले दाबी गरेको थियो ।
बुधबारको परीक्षण हालैका दिनमा उत्तर कोरियाले हतियार परीक्षण तीव्र पारेको अवस्थामा भएको हो । एनके न्यूजले प्योङ्याङ प्रत्यक्षदर्शीले ठूलो विमानको झैँ आवाज सुनेको र लगत्तै ’पड्किएको’ जस्तो आवाज आएको बताएको लेखेको छ ।
राजधानीको आकाशमा रातो रङ्ग देखिने धुवाँको मुस्लो देखिएको पनि बताइएको छ । एनके न्यूजसँग विज्ञ अंकित पान्डाले अहिलेको परीक्षण को दृश्य पनि असफलताको जस्तै देखिएको बताउँदै रातो खालको पहेँलो धुवाँ तरल इन्धनको हुने र त्यो मानिसका लागि विषालु हुने बताएका छन्। उत्तर कोरियाले यो वर्ष मात्रै नौ पटक हतियार परीक्षण गरेको छ।

प्रतिक्रिया