१२ हजार रुसी सैनिकको मृत्यु भएको जेलेन्स्कीको दाबी


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १३ सय युक्रेनी सैनिक र झन्डै १२ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन् । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए । रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ । अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेका छन् ।

केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५ हजारदेखि ६ हजार रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो । मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५ हजार देखि १८ हजार भएको बताइएको थियो । प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुणा हुने गर्छ ।