कोभिड खोप नलगाएकाले मुटु प्रत्यारोपण गर्न अमेरिकी अस्पतालद्वारा अस्वीकार
अमेरिकाको एउटा अस्पतालले कोभिड–१९ विरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । उनको मुटु प्रत्यारोपण नगरिनुका विभिन्न कारणमध्ये खोप नलगाउनु पनि एउटा भएको अस्पतालले जनाएको छ ।
३१ वर्षीय डीजे फर्गसन नयाँ मुटुको प्रतीक्षामा भएका बिरामी हुन् । तर बोस्टनको ब्रिगम एन्ड विमिन्स हस्पिटलले मुटु प्रत्यारोपण कुरिरहेका बिरामीको सूचीबाट उनको नाम हटाएको उनका बुबा डेभिडले बताएका छन् । डेभिडका अनुसार कोभिड खोप उनका छोराको आधारभूत मान्यता विरुद्ध छ र उनी खोपमा विश्वास गर्दैनन् ।
अस्पतालले भने आफ्नो नीतिअनुसार काम गरेको जनाएको छ । ब्रिगम एन्ड विमिन्स हस्पिटलले एउटा वक्तव्यमार्फत् उपलब्ध अङ्गहरूको अभावका कारण प्रत्यारोपित अङ्ग पाएका व्यक्ति बाँच्ने सम्भावना उच्च रहोस् भनेर सुनिश्चित गर्न यथासम्भव सबै प्रयास गर्ने जनाएको छ ।
अस्पतालका प्रवक्ताका अनुसार उनीहरूको रोग प्रतिरोधी क्षमता एकदमै कमजोर हुने भएका कारण सफल प्रत्यारोपण र त्यसपछि बिरामी बाँच्ने अवस्था बढाउनका लागि प्रत्यारोपण गरिने व्यक्तिहरूको कोभिड–१९ विरुद्धको खोप र अनुशासित जीवनशैलीको अवस्था अस्पतालले सुनिश्चित गर्ने गरेको छ ।