यमनमा हिंसा बढेकामा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त


संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका विशेष दूत ह्यान्स ग्रन्डबर्गले यमनमा पछिल्ला वर्षहरुमा हिंसा बढ्दै गएको बताएका छन् । उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका छन् ।

यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले राजधानी सानामा पनि निरन्तर रुपमा हवाई कारबाहीका नाममा हमलाहरु हुने गरेका र यसमा पनि सर्वसाधारण नागरिकहरु नै पर्ने गरेका बताए ।यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा हवाई र स्थलगत कारबाही गर्ने गरेको छ ।

यसमा परेर प्राय हप्तैपिच्छे कैयौँ विद्रोहीहरु मारिने पनि गरेका छन् । सेनाले यमनको दक्षिण पश्चिमी क्षेत्र ताइजमा सोमबार मात्र पनि आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् ।

गत महिनादेखि यहाँको सेनाले उक्त क्षेत्रमा पनि कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।