कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने अन्तिम मौका


विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ कार्यदलको काम कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको छ । डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’का लागि २६ जना विज्ञको नाम तय गरेको छ ।

चीनको वुहान सहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलो पटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै अस्पष्ट छ । डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट ‘लीक’ भयो भन्नेबारे अनुसन्धान गर्नेछ ।

चीनले प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ । गत फेब्रुअरीमा डब्ल्यूएचओकै एउटा अनुसन्धान टोली चीन पुगेको थियो । सो टोलीले कोरोनाभाइरस सम्भवतः चमेरोबाट उत्पन्न भएको निचोड निकाले पनि थप काम गर्नुपर्ने खाँचो औँल्याएको थियो ।

तर पछि डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गेहब्रयससले तथ्याङ्कको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताए । प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको अघिल्लो टोलीमा संलग्न ६ जना विज्ञ पनि समावेश छन् ।

कोरोनाभाइरसका साथसाथै नयाँ टोलीले अतिजोखिमयुक्त अरू प्याथोजिन्सको उत्पत्तिबारे पनि अध्ययन गर्नेछ । साइन्स जर्नलमा एउटा संयुक्त सम्पादकीय लेख्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस र अरू अधिकारीले कोरोनाभाइरसबारे ‘प्रयोगशाला दुर्घटनाको सम्भावनालाई नकार्न नसकिने’ बताएका छन् ।

आपत्कालीन मामिलासम्बन्धी डब्ल्यूएचओका निर्देशक माइकल रायनले नयाँ अनुसन्धान टोलीको काम कोरोनाभाइरसको उत्पत्ति स्थानबारे बुझ्ने अन्तिम मौका हुन सक्ने बताएका छन्।