पाकिस्तानी परमाणु बमका पिता मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । उनी कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए । पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उनलाई राष्ट्रिय नायक मानिन्छ ।
तर उनीमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लगाइन्छ । प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताएका छन् । एक्यू खानका नामले चिनिने उनले इस्लामाबादनजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न प्रमुख भूमिका खेलेका थिए ।
सन् १९९८ मा पाकिस्तानले पहिलो परमाणु परीक्षण गरेको थियो । भारतले परमाणु परीक्षण गरेको केही समयपछि प्राप्त सफलताले भारतलाई विश्वको सातौँ पारमाणविक शक्ति राष्ट्र बनायो र देशभरि विजयोत्सव मनाइयो ।
सन् २००४ मा उनलाई इरान, लिबिया र उत्तर कोरियालाई गैरकानुनी रूपमा परमाणु प्रविधिबारे जानकारी दिएको आरोपमा गिरफ्तार गरिएको थियो । उनलाई तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले माफी दिए पनि सन् २००९ सम्म उनी घरमै नजरबन्दमा राखिएका थिए । पश्चिमा राष्ट्रहरू उनलाई कारवाही नगरिएकोमा आक्रोशित थिए ।

प्रतिक्रिया