एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा आक्रमण गर्दा कम्तीमा ५० जना मारिएका छन् । हमलामा परी कम्तीमा एक सय जनाभन्दा बढी घाइते भएका बताइएको छ ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौँ शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् ।
इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस–केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । उसले हालैका दिनमा देशका पूर्वी क्षेत्रहरूमा कैयौँ बम हमलाहरू गरेको थियो । सत्ताबाट अमेरिकी सैन्य बलले हटाएको दुई दशकपछि यसै वर्ष तालिबानहरूले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेका थिए ।
विदेशी फौजहरू फर्किएसँगै उनीहरूले देशैभरी कब्जा गर्दै काबुल नियन्त्रणमा लिएका थिए । धैरै अफगानहरूले तालिबानले शक्ति हातमा लिएपछि निरङ्कुशता देखा परे पनि शान्ति छाउने अपेक्षा गरेका थिए । तर आइएस समूहले सुरक्षा सुधार गर्ने तालिबानको वाचामा महत्वपूर्ण जोखिम थपेको छ ।

प्रतिक्रिया