चलचित्रको छायाङ्कनका लागि रुसको एक टोली अन्तरिक्षमा


अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अगाडि पर्दै अमेरिकी टोलीभन्दा अगाडि नै चलचित्र छायाङ्कन गर्न एउटा रुसी अन्तरिक्ष टोली इन्टरनेशनल स्पेस स्टेशन आईएसएसमा पुगेको छ ।

क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड छन् । उनीहरू चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ । अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा चलचित्र छायाङ्कन बनाउने योजना बनाइरहेका छन् ।

मङ्गलवार रुसी टोली अन्तरिक्षतिर लाग्दा कैयौँ टेलिभिजन क्यामेराहरू पेरेसिल्ड र टाढा बसेर हेरिरहेकी उनकी १२ वर्षीय छोरी आनातिर सोझिएका थिए । रुसको वेबसाइटले ’वास्तविक नायकहरू अन्तरिक्षमा पुगेको’ लेखेको छ । शिपेन्कोको नायिका श्रीमती कार्पुनिनाका अनुसार निर्देशकले अन्तरिक्षमा जानुअघि १५ किलो तौल घटाउनु परेको थियो ।

अन्तरिक्षयात्री एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११ः५५ मा यान प्रक्षेषण गरिएको थियो । उडेपछि कमाण्डरले यात्रुहरू ठिकठाक रहेको बताएका थिए । उडेको तीन घण्टापछि सोयुज आईएसएसमा अवतरण गरेको थियो । अन्तरिक्ष स्टेशनमा अवतरण गर्न भने अलिकति समय लागेको थियो। त्यसबेला स्वचालित डकिङ अर्थात् अवतरण विफल भएपछि अन्तरिक्षयात्रीको नियन्त्रणमा डकिङ गर्नुपरेको थियो । श्कापलेरोभसँग सहयोगका लागि सामान्य अवस्थामा उडान इन्जिनियरको सहयोग उपलब्ध हुन्थ्यो।

तर उनीसँग यस पटक साथ रहेका यात्रुहरूले भने छोटो समय तालिम लिएका कारण सहयोग गर्न सकेनन् । अन्ततः यान अवतरण भयो। उनीहरूलाई आईएसएसको रुसी क्षेत्रमा रहेका सात जनाले स्वागत गरेका थिए । रसकसमस अन्तरिक्ष निकायका प्रमुख दिमित्री जोगोजिनले ट्वीट गर्दै भने,‘योजना अनुसार नै सबै कार्य सम्पन्न भएको छ ।’

श्कापलेरोभ थप केही दिन अन्तरिक्षमै बस्ने भए पनि निर्देशक र नायिका भने १२ दिन मात्र अन्तरिक्षमा बसेर चलचित्र छायाङ्कन गर्नेछन् । चलचित्रमा पेरेसिल्ड एक अन्तरिक्षयात्रीलाई बचाउन पृथ्वीको कक्षमा पठाइएका मुटु चिकित्सकको भूमिकामा छिन् । दुई अन्तरिक्षयात्रीहरू ओलेग नोभिट्स्की र प्योटर डबरभले पनि चलचित्रमा अभिनय गर्नेछन् ।

चलचित्रको छायाङ्कन आईएसएसको रुसी क्षेत्रमा गरिने छ । तर चलचित्रको योजनामाथि वादविवाद भइरहेको छ । रोसकसमस प्रमुखको योजनामा यो फिल्म बनाइँदैछ। यो योजनामा मतभेद भएपछि एक जना उच्च अधिकारीलाई बर्खास्त गरिएको थियो।

तर अन्तरिक्ष यात्राबारे विशेष ज्ञान भएका सेर्गेइ क्रिकालेभलाई बर्खास्त गरिँदा चर्को विरोध भएपछि उनलाई उनकै पदमा फर्काउनुपरेको थियो । अर्का अन्तरिक्ष विज्ञ मिखाइल कोर्निएन्कोले बीबीसी रुसी सेवालाई आफूले पनि उक्त योजनाको विरोध गरेको बताएका छन् ।

चलचित्रको लगानी रुसको च्यानल वान टेलिभिजनले गरेको छ । रसकसमसको एक भगिनी संस्थाले सङ्घीय बजेटबाट खर्च आवश्यक नपर्ने बताएको छ ।