भूकम्पबाट पाकिस्तानमा कम्तीमा २० जनाको मृत्यु


पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीबार बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ ।

उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका छन् । प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ ।

भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए । मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका समाचार संस्था रोयटर्सले जनाएको छ । कम्तीमा १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई बताएका छन् ।

तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको बताएका छन् ।