अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन् ।
सरकारले खर्च गर्न नपाउने प्रावधान लागू हुन केही घण्टा मात्रै बाँकी रहँदा संसद्ले उक्त विधेयक पारित गरेको थियो । राष्ट्रपति बाइडनले समयसीमा भन्दा एक घण्टा अगाडि मात्रै त्यसमा हस्ताक्षर गरेका थिए ।
त्यस्तो हुन नसकेको भए सङ्घीय सरकार अन्तर्गतका सङ्ग्रहालय, राष्ट्रिय निकुञ्ज अनि सुरक्षा सम्बन्धी कार्यक्रमहरू बन्द रहन बाध्य हुन्थे । रिपब्लिकन र डेमोक्र्याटहरूबीच सहमति जुटेसँगै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटमा मतदान भएको थियो ।
संसद्को पछिल्लो कदमले डिसेम्बर महिनाको तीन तारिखसम्म सरकारले खर्च गर्न पाउने सुनिश्चित गरेको छ । त्यस्तै हालसालै चरम मौसमी प्रभाव देखा परेका अमेरिकी राज्यहरू र अफगान शरणार्थीहरूको बसोबासको प्रबन्ध मिलाउनका लागि पनि सरकारले खर्च गर्न पाउने भएको छ ।
खर्च अनुमोदन भएसँगै शुक्रवार सङ्घीय निकायहरू बन्द रहने छैनन् जसले गर्दा लाखौँ सरकारी कर्मचारीहरूले बेतलबी बिदा लिनुपर्ने छैन । बिहीबार सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ मत परेको थियो भने विपक्षमा ३५ मत खसेको थियो । १५ जना रिपब्लिकनहरूले विधेयकको पक्षमा मतदान गरेका थिए । तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा भने पक्षमा २५४ र विपक्षमा १७५ मत खसेको थियो।

प्रतिक्रिया