पप सुपरस्टार शकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइटा बँदेलको आक्रमणमा परेको बताएकी छन् ।
कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको र पछि रूखहरूबीच लुकेको बताइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ शेयर गरेकी हुन् ।
च्यातिएको झोला क्यामेरातिर देखाउँदै उनले भनिन्,‘ल हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्।’ त्यसपछि उनी आफ्नो छोरातिर फर्किन् जसका बुवा बार्सिलोनाका फूटबल खेलाडी हुन्।
क्याटलन राजधानीमा बढ्दो रूपमा आक्रामक देखिएका जंगली बँदेलहरूको हमलामा पर्ने शकिरा पछिल्लो व्यक्ति हुन् । सन् २०१६ मा बँदेलहरूले कुकुरमाथि आक्रमण गरेको, बिरालोका खानेकुरा थुतेको, ट्राफिकलाई रोकेको र कार चढेका लगायतका १,१८७ वटा टेलिफोन उजुरी स्पेनी प्रहरीले दर्ता गरेको थियो ।
सन् २०१३ मा एक नगर प्रहरी अधिकारी समस्याको समाधान गर्न आफैँ अगाडि सरेका थिए । उनले आफ्नो रिभल्भरले एउटा बँदेलमाथि गोली चलाए। तर त्यो गोली बँदेललाई नलागेर उनका साथीलाई लाग्न पुगेको थियो ।
थुप्रै किसिमका रोग सार्न सक्ने बँदेलहरू विश्वका सबैभन्दा अतिक्रमणकारी जीवमा सूचीकृत छन् र तिनीहरू लगभग सबै वातावरणमा बाँच्न सक्छन् । तर केही देशहरूमा तिनीहरू शहरतर्फ सर्ने क्रम बढ्दो छ जहाँ मानिसले फालेका फोहोरमैलामा तिनीहरू निर्भर हुन्छन्।

प्रतिक्रिया