भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ । उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ । दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ ।
तर उसले फैसलाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । ती महिलाले ‘आफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको’ नेशनल कन्ज्युमर डिस्प्युट रिड्रेसल कमिसनले भनेको छ ।
सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त होटेलमा पुगेकी थिइन र आफ्नो कपाल काट्ने विषयबारे कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी थिइन् ।
तर हेअर स्टाइलिस्टले उनको कपालको अधिकतम हिस्सा काटिदिएका थिए। अदालतको काजगात अनुसार उनको कपाल जम्मा चार इन्च रहने गरी काटिएको थियो । जब उनले सैलुनसमक्ष गुनासो गरिन् उनलाई कपालको निःशुल्क स्याहार गरिदिने प्रस्ताव गरिएको थियो।

प्रतिक्रिया