हेइटीका आप्रवासीलाई अमानवीय रूपमा फिर्ता गरिएपछि अमेरिकी दूतद्वारा राजीनामा


हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि हेइटीका लागि अमेरिकी विशेष दूतले राजीनामा दिएका छन् ।

वरिष्ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै एउटा आलोचनात्मक पत्र लेखेका थिए ।

गत सप्ताहन्त अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो । आइतबारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्ससका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हेइटी फिर्ता गरिसकेको छ । जहाँ एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको धूपमा झण्डै १३ हजार आप्रवासीहरू जम्मा भएर बसेका थिए ।

आफ्नो राजीनामापत्रमा विशेष दूत फुटेले हेइटी असफल राष्ट्र भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताए ।

ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले भने विशेष दूत फुटेसामु ती सरोकारहरू उठाउने पर्याप्त अवसरहरू रहेको तर पदमा हुँदा उनले एकपटक पनि त्यसो नगरेको बताइन् । फुटे जुलाई महिनामा हेइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या भएयता उक्त भूमिकामा थिए ।

घोडामा बसेर आप्रवासीहरूलाई लखेटेका तस्विरलाई दर्दनाक बताएकी ह्वाइटहाउसकी प्रवक्ताले अब त्यस क्षेत्रका बोर्डर एजेन्टले घोडसवार हुन नपाउने बताइन् । पछिल्लो घटनाक्रमले बाइडन प्रशासनमाथि उनको डेमोक्रेटिक पार्टी भित्रबाटै हेइटीका आप्रवासीहरूलाई घर नफर्काई शरण दिन अनुरोधहरू आएका थिए।