चीनको एउटा अदालतले क्यानडाका एक व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोर अर्का क्यानडाली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए । यो फैसलाले क्यानडा र चीनबीच कठिन बनेको सम्बन्ध परीक्षण गर्ने मानिएको छ ।
चीनले अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउने प्रयत्न गरिरहेको छ । आलोचकहरूले चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गर्छन् ।
एउटा विज्ञप्तिमा डान्डोङ अदालतले भनेको छ,‘जासुसी र राज्यका गोप्य कुरा विदेश पुर्याएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल, ५० हजार युआन बराबरको निजी सम्पत्ति जफत र देशनिकालाको सजाय तोकेको छ।’ विज्ञप्तिमा स्पाभोरलाई कहिले देशनिकाला गरिन्छ भनेर तोकिएको छैन। सामान्य रूपमा चीनले विदेशीलाई जेल सजाय पूरा गरेपछि मात्रै देशनिकाला गर्छ । चीनका लागि क्यानडाका राजदूत डोमिनिक बार्टनले फैसलाको भत्र्सना गरेका छन् ।
क्यानडामा मङ गिरफ्तार भएको केही दिनपछि सन् २०१८ मा स्पाभोरलाई जासुसीको आरोपमा गिरफ्तार गरिएको थियो । मार्चमा भएको पहिलो सुनुवाइमा कुनै फैसला भएन ।
सो समयमा क्यानडाका कूटनीतिज्ञहरूलाई समेत अदालतमा प्रवेश दिइएको थिए । स्पाभोर उत्तर कोरियासँग अन्तर्राष्ट्रिय व्यापार र सांस्कृतिक सम्बन्धका लागि सहयोग गर्ने पेक्टू कल्चरल एक्स्चेन्जका संस्थापक सदस्य हुन् । कोभ्रिगको मार्चमा नै छुट्टै सुनुवाइ भयो तर कुनै फैसला गरिएन ।
मङ्गलवार अर्का क्यानडाली नागरिकले लागुपदार्थ तस्करीका लागि तोकिएको मृत्युदण्डविरुद्धको पुनरावेदनमा हारेका थिए । रोबर्ट लोयड शेलेन्बर्गलाई सन् २०१८ मा १५ वर्षको जेल सजाय सुनाइएको थियो । अदालतले रोबर्ट लोयड शेलेन्बर्गको सजाय कायम राख्न यथेष्ट प्रमाण भएको बताएको थियो ।
शेलेन्बर्गलाई सुरुमा १५ वर्षको सजाय तोकिएको थियो तर त्यसको केही दिनमा क्यानडाले अमेरिकी सुपुर्दगीपुर्जीको आधारमा मङलाई गिरफ्तार गर्यो । सो समयमा चीनले मङलाई मुक्त नगरिए त्यसको मूल्य चुकाउनुपर्ने चेतानी दिएको थियो ।

प्रतिक्रिया