अफगानिस्तानको कान्दहारको जेल तालिबानको कब्जामा


अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको छ ।

तालिबानले उक्त जेललाई आफूले नियन्त्रणमा लिएको बताए पनि हालसम्म त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका गल्ली गल्लीमा लडाइँ जारी छ । बढ्दो हिंसाका बीच बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुखलाई बर्खास्त गरेको थियो ।

हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ । रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन् । त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ । श्रृङ्खलाबद्ध रूपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू तालिबानको कब्जामा गएपछि बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको थियो ।

उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए । उनका उत्तराधिकारीले देशभरि बढेको हिंसा र तालिबानको शक्तिसँग जुझ्नु पर्नेछ । अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र त्यहाँ एक हजार सर्वसाधारण मारिएका छन् ।

परम्परागत रूपमा तालिबान विरोधी रहँदै आएको अफगानिस्तानको उत्तरी सहर मजार–ए–शरीफ पनि तालिबानी हमलाको चपेटामा परेको छ । राष्ट्रपति असरफ गनी सरकार समर्थक फौजलाई हौसला बढाउन एउटा र्यालीमा सहभागी हुन बुधवार उक्त सहरमा पुगेका थिए ।

राष्ट्रपति गनीले त्यहाँ रहँदा उज्बेक जातीय समूहका युद्ध सरदार र ताजिक जातीय समूहका स्थानीय प्रभावशाली नेतासँग सहरको बचाउबारे वार्ता गरेका थिए । वर्षौँसम्म राष्ट्रपति गनीले राष्ट्रिय सेनालाई बलियो बनाउने प्रयास स्वरूप अफगान जातीय समूहका युद्ध सरदारहरूलाई पाखा लगाउने गरेका थिए । तर अहिले आवश्यक परेका बेला तिनीहरूकै सहायताका लागि उनी फर्किएको बताएका छन् । यसैबीच नजिकैको कुन्दुज सहरमा सयौँ सरकारी सेनाले त्यहाँको विमानस्थलमा लडाकुहरू समक्ष आत्मसमर्पण गरेका छन् ।