अमेरिका गैरजिम्मेवार बन्दा अफगानिस्तानको अवस्था नाजुकः विदेशमन्त्री कुरेसी


पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा निस्कँदा समस्या भएको बताएका छन् । विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका हुन् ।

अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताए । विदेशमन्त्री कुरेसीले भनको छन्, ‘कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारीरुपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरुले अराजकता मच्चाउन थालेको हो।’

उनले पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थितरुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन ।’

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको उनले बताए ।

अमेरिकाले व्यवस्थितरुपमा यहाँबाट सेना फिर्ता गर्ने योजना बनाउनुपर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको उनले बताए । अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उनले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको बताए ।