बंगलादेशमा चट्याङ लागेर १७ जनाको मृत्यु
बङ्ग्लादेशमा चट्याङ लागेर एउटा विवाह भोजमा सहभागी कम्तीमा १७ जनाको मृत्यु भएको छ । उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।
उत्तरी बङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेका बेला ठूलो वर्षा भएको थियो। स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो ।
एक स्थानीय अधिकारीले बीबीसी बाङ्ग्लालाई बताएअनुसार बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा हुन् । दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसहरूको मृत्यु हुन्छ ।
बङ्ग्लादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो । त्यसवर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो। त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।
विज्ञहरूका अनुसार वनविनाशका कारण घातक चट्याङको सङ्ख्या बढेको हो । अग्ला रूखहरूले चट्याङ आफूतिर तान्ने गरेको तर वन मासिँदा चट्याङ भूमिमा खस्ने क्रम बढेको उनीहरूको भनाइ छ ।
मौसमविद्हरूका अनुसार उत्तर तथा पश्चिमोत्तर बङ्ग्लादेश बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन् । गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्छ । सरकारले चट्याङसम्बन्धी पूर्वचेतावनी दिन तथा क्षतिबाट जोगाउन सकिन्छ कि भनेर परीक्षणका रूपमा चट्याङ पत्ता लगाउन सक्ने क्षमता भएका सेन्सरहरू देशका छ स्थानमा जडान गरेको छ ।