बग्दादमा भएको हमलाको राष्ट्रसंघद्वारा निन्दा


संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सोमबार इराकको राजधानी बगदादामा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले हमलाको निन्दा गरेको हो ।

राजधानी बगदादामा सोमबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको थियो । त्यस हमलामा परेर अरु करिब ५० जना नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुले बुधबार विज्ञप्ति प्रकाशन गरी हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ । ती सदस्यहरुले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

त्यसैगरी उक्त हलमामा जिम्मेवार व्यक्तिहरुलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् । सोमबारको सहिंसात्मक हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।