दक्षिण अफ्रिकी महिलाले १० सन्तान जन्माएको खबर असत्य


दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ । खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो । स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको थियो ।

ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ । विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन । प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो ।

आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो । उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो । प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो ।

पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।’

प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ । सिथोले आफ्ना जोडी टेबोहो सोतेत्सी र ६ वर्षमा जुम्ल्याहाहरूसँगै जोहानेसवर्ग नजिकै पर्ने खाउटेङ् प्रान्तको थेम्बिसामा बस्दै आएकी छन् । आइओएल अनलाइनका अनुसार रामपेडी जाने गिर्जाघरमा उनीहरू पनि प्रार्थनाका लागि जान्छन् र डिसेम्बरमा उनीहरूको चिनजान भएको थियो।

मे महिनामा उनले उक्त जोडीको अन्तरवार्ता लिएको र त्यसमा उनीहरूले आठ जना बच्चा अपेक्षा गरिरहेको बताएको दाबी गरिएको छ । एउटा फोटोमा सिथोलेको गर्भ एकदमै ठूलो देखिन्छ । प्रिटोरिया न्यूजले जुन ८ मा १० जना बच्चाको आश्चर्यजनक जन्मबारेको खबर प्रकाशन गरेको थियो जसमा सोतेत्सीलाई श्रोत उल्लेख गरिएको थियो ।

पछि सोतेत्सीले सिथोलेबाट त्यस्तो सन्देश पाएको बताएका थिए । उनले कोरोनाभाइरसको निषेधाज्ञाका कारण आफूलाई अस्पताल जान नदिइएको उल्लेख गरेका थिए । रामपेडीले ह्वाट्सएप सन्देशलाई आधार मानेका थिए र अस्पतालबाट स्वतन्त्र पुष्टि गराएका थिएनन् । स्थानीय मेयरले पछि त्यसरी बच्चाहरू जन्मिएको पुष्टि गरेका थिए।

त्यसपछि बीबीसी सहित अरू सञ्चारमाध्यमले यसबारेका खबर प्रकाशित गरेका थिए । तर सरकारी प्रवक्ताले पछि स्थानीय नेताले परिवारको कुरा मात्रै सुनेको र कसैले पनि बच्चा नदेखेको बताएका थिए । त्यसपछि उक्त जोडी र बच्चाहरूका लागि चन्दा र सहयोगको लहर देखा परेको थियो । तर प्रिटोरिया न्यूजले प्रारम्भिक रूपमा कुन अस्पतालमा ती बच्चाहरूको जन्म भयो भन्ने पुष्टि गर्न नसकेपछि आशङ्काहरू उत्पन्न भएका थिए ।

र खाउटेङ्स्थित कैयौँ अस्पतालहरूले त्यस्तो घटना नभएको बताएका थिए । त्यसपछि सोतेत्सीले सिथोले बेपत्ता भएको उल्लेख गर्दै सहयोग रोक्न आग्रह गरेका विवरण आएका थिए । सिथोलेले चाहिँ बच्चाहरूबाट आर्थिक लाभ लिन चाहेको आरोप उनीमाथि लगाएको प्रिटोरिया न्यूजले छापेको थियो । पछि सामाजिक कार्यकर्ताहरूले सिथोलेलाई फेला पारेका थिए र उनलाई शुक्रवार जाँचका लागि अस्पताल भर्ना गरिएको छ।