ब्रिटिश राजकुमार ह्यारी र उनकी पत्नी मेगनले दोस्रो सन्तानको रूपमा छोरी जन्मिएको घोषणा गरेका छन् । लिलिबेट ‘लिलि’ डायना माउन्टब्याटन–विन्डसरको जन्म शुक्रवार बिहान अमेरिकाको क्यालिफोर्नियाको एक अस्पतालमा भएको थियो ।
एक वक्तव्यमार्फत ह्यारी दम्पतीले आमा र शिशु दुवै स्वस्थ्य र सकुशल रहेको जनाएका छन् । बकिङ्घम दरबारले भनेको छ, ‘महारानी, प्रीन्स अफ वेल्स र डचिस अफ कोर्न्वल एवम् ड्यूक र डचिस अफ क्याम्ब्रिज उक्त खबर सुनेर प्रसन्न भएका छन्।’ राजकुमार ह्यारी र मेगनले आफ्नी छोरीको लागि जिजुआमा महारानी एलिजाबेथको परिवारमा बोलाइने नाम लिलिबेट छानिएको बताएका छन् ।
महारानीले तोतेबोली बोल्ने बेलामा आफ्नो वास्तविक नामलाई राम्ररी उच्चारण गर्न नसक्दा उक्त नाम दिइएको थियो । बीचको नाम डायना भने उनकी स्वर्गीय हजुरआमा प्रिन्सेस अफ वेल्सको सम्मानमा राखिएको उक्त विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय समय अनुसार बिहानको ११ बजेर ४० मिनेट जाँदा जन्मिएकी उनको तौल झन्डै ३.४९ केजी रहेको र अहिले उनी घरमा रहेको बताइएको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ‘धेरै बधाई’ र लेबर नेता सर केअर स्टारमरले ’गज्जबको खबर’ भन्दै सन्देश दिएका छन् ।
लिलिबेट महारानीकी ११औँ पनातिनी हुन् र उनी राजगद्दीको क्रममा आठौँ नम्बरमा पर्छिन् । यसको अर्थ सन् १९६० मा राजगद्दीको दोस्रो क्रममा जन्मिएका राजकुमार एन्ड्रिउ अब राजगद्दीको लहरमा नवौँ स्थानमा पुग्नेछन् ।
३६ वर्षीय ह्यारी र ३९ वर्षीय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए । उनीहरूले आफ्नी छोरीको कुनै तस्बिर भने सार्वजनिक गरेका छैनन् । विवाहको एक वर्षपछि उनीहरूको छोरा आर्चीको जन्म भएको थियो ।

प्रतिक्रिया